१० साउन,बुटवल
नेपाल प्रेस युनियन रुपन्देहीले मापदण्ड पुगेका सबै आवेदक पत्रकारहरुलाई महासंघको सदस्यता दिइनुपर्ने माग राखेको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीले गरेको सदस्यता वितरण सम्बन्धि निर्णय सच्याउनु पर्ने माग गर्दै प्रेस युनियन रुपन्देहीले ज्ञापन पत्र बुझाएको हो। ।नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालले नेपाल पत्रकार महासंघ रुपन्देहीमा ज्ञापन पत्र बुझाउँदै उक्त निर्णय तत्काल सच्याउन माग गरेको र नेपत्रकार महासंघ रूपन्देहीले आफैले बनाएको सदस्यता वितरण मापदण्ड विपरित गरिएका निर्णयहरु निर्णय सच्याउन माग गरिएको जानकारी दिनु भयो। ।
नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार नेपाल पत्रकार महासंघ रुपन्देहीको यहि साउन ६ र ७ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णयलाई सच्याउन माग गरेको हो। ‘महासंघले गरेको निर्णयमा कतिपय मापदण्ड भित्र पर्नेलाई पनि सदस्यता नदिएको र कतिपय मापदण्ड भन्दा बाहिरका व्यक्तिलाई समेत सदस्यता दिएको युनियनको दाबी छ।
एउटै मिडिया हाउसमा समान पदमा काम गर्नेलाई पनि एउटालाई सदस्यता दिने अर्कालाई नदिने निर्णय भएको भन्दै युनियनले यस्तो विभेदकारी निर्णय नसच्याए आन्दोलनमा उत्रिन बाध्य हुने प्रेस युनियन रुपन्देहीले चेतावनी दिएको छ ।
कुनै पनि आस्था र विचारका आधारमा नभई मापदण्डका आधारमा सदस्यता दिईनु पर्ने बताउँदै युनियनका अध्यक्ष नेपालले सदस्यता वितरण गर्ने यो निर्णयले सदस्यता शुद्धिकरणलाई समेत गिज्याएको टिप्पणी गर्नु भयो । ‘नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको साझा संस्था हो । महासंघले लिने हरेक निर्णय सबैका लागि स्वीकार्य हुनुपर्दछ भन्ने हाम्रो प्रष्ट धारणा छ । तर महासंघले गरेका कतिपय निर्णयहरु आफैमा प्रश्न चिन्न खडा भएकाले त्यस्ता निर्णय सच्याउन नेपाल प्रेस युनियन रुपन्देही जोडदार माग गर्दछ ।’ ज्ञापन पत्रमा भनिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिईएको उक्त ज्ञापन पत्रमा महासंघ रुपन्देहीले गरेको निर्णय विभेदकारी भएकोले सच्याउन र अन्यथा अन्यायपूर्ण निर्णयका विरुद्ध युनियन जस्तोसुकै कदम चाल्न पनि तयार रहेको जानकारी गराईएको छ । ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले महासंघले तयार गरेको मापदण्डमा रहेर सबैको छलफलबाट निर्णय गरिएको बताउँदै संगठनहरुले असमत्ति जनाएकाले फेरी छलफल गरेर एउटा निश्कर्षमा पुग्ने बताउनु भयो ।