काठमाडौँ ।
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले खेलकुद सामाग्री उत्पादक कम्पनी एडिडाससँग आगामी १० वर्षका लागि सम्झौता नविकरण गर्ने निणर्य लिएको छ । म्यानचेस्टर युनाइटेडले ९० करोड पाउन्ड (करिब एक खर्ब ५२ अर्ब ६ करोड ४० लाख रुपैयाँ) मा सम्झौता नविकरण गर्ने निणर्य लिएको हो ।
नयाँ सम्झौतापछि म्यानचेस्टर युनाइटेड र एडिडासबीच सन् २०३५ सम्मका लागि सहकार्य हुनेछ । यसअघि म्यानचेस्टर युनाइटेड र जर्मनीको खेलकुद पोशाक उत्पादक कम्पनी एडिडासबीच सात करोड ५० लाख पाउन्डमा १० वर्षका लागि सम्झौता भएको थियो ।
पछिल्लो समय म्यानचेस्टर युनाइटेडका अमेरिकी मालिक ग्लाजर परिवारले क्लब बेच्ने तयारी गरिरहेको समाचार प्रकाशमा आएको छ । अहिले म्यानचेस्टर युनाइटेडको अधिकांश शेयर अमेरिकी ब्यवसायी ग्लाजरका ६ वटा सन्तान अब्राम, बार्यन, डार्सी, एडवार्ड, जोल र केभिनको नाममा रहेको छ ।
‘म्यानचेस्टर युनाइटेड र एडिडासबीचको सम्बन्ध विश्व खेलकुदकै लागि उदाहरणीय रहँदै आएको छ,’ म्यानचेस्टर युनाइटेडका प्रमुख कार्यकारी रिचर्ड आर्नोल्डले भनेका छन् । म्यानचेस्टर युनाइटेड र एडिडासबीच पहिलो पटक सन् १९८० मा सम्बन्ध जोडिएको थियो ।
सबैभन्दा पहिले सन् १९८० देखि सन् १९९२ सम्म एडिडासले म्यानचेस्टर युनाइटेडका लागि खेलकुद सामाग्री उपलब्ध गराउँदै आएको थियो । त्यसपछि केही समयका लागि उनीहरुको सम्झौता नविकरण भएको थिएन । सन् २०१५–१६ सिजनपछि पुनः यी दुईबीच सहकार्य सुरु भएको थियो ।
एजेन्सी ।