काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको ज्यान गएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले जनाएको छ ।
उत्तरी गाजा र गाजा सहरभित्र इजरायली आक्रमणमा परि विदेशी र इजरायलीको ज्यान गएको एक विज्ञप्तिमा भनिएको छ । उत्तरी गाजा पट्टीमा ६ जनाको र गाजा सहरका अन्य छुट्टाछुट्टै ठाउँमा सात जनाको ज्यान गएको दाबी गरिएको छ ।
इजरायली सेनाले बिहीवार राति गाजा पट्टीमा भूमिगत सुरुङ, सैन्य परिसर र घरहरू, हतियार डिपोहरू तथा सञ्चार कक्षहरूसहित लगभग ७ सय ५० ठाउँ लक्षित आक्रमणको घोषणा गरेको छ । इजरायली सेनाको निर्देशन पछि गाजाको उत्तरी क्षेत्रका बासिन्दाहरु दक्षिणी गाजातर्फ लागेका छन् ।
इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा आक्रमण गर्ने भन्दै त्यहाँका झण्डै ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा जान निर्देशन दिएको थियो । हमासले इजरायलमा आक्रमण गरेको आज एक हप्ता भएको छ । हमास र इजरायली सेनाबीच युद्ध चर्किँदै गएको छ ।
हमासको आक्रमणमा इजरायलतर्फ एक हजार ३ सयभन्दा धेरैको ज्यान गएको छ भने इजरायली सेनाको आक्रमणमा झण्डै एक हजार आठ सय जना प्यालेस्टिन मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन्।