बुटवल ।
आजदेखी बडा दशै पर्व समापन गरिदैछ । बडादशैँ पर्व महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि समापन गर्ने प्रचलन रहेको छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ ।
शास्त्र अनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम भने हिजो बेलुका नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि हिजो नै सकिएको छ । जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगेर सेलाएर यश पर्वलाई समापन गरिन्छ ।