काठमाण्डौ ।
ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएकाे छ । शुक्रवार ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएकाे हो ।
गोली लागेर घाइते भएका दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी गरेका थिए । प्रहरीका अनुसार मन्त्रीको गाडीमा आगजनी र अरु सार्वजनिक गाडीमा तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको हो ।