काठमाण्डौ ।
प्रमुख दलहरुले बालकुमारी घटनामा सरकारको लापरबाही देखिएको भन्दै विरोध गरेका छन्। नेपाली कांग्रेसले घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति निकालेर मन्त्री चढेको गाडीमा आगजनी हुनु र त्यसपछि प्रदर्शनकारीको ज्यान जानु दुवै घटनाप्रति कांग्रेसको ध्यानाकर्षण गराउनुभएको हो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा वली सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ ‘बालकुमारी घटनामा होनाहार दुईजना नवयुवकको ज्यान गयो। बल प्रयोग समस्याको समाधान होइन । समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय छ। घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर । ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना । अब यस्तो कहिलै नहोस् !’
त्यस्तै, नेकपा एमालेले पनि बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई संयमता नगुमाउन आग्रह गर्दै युवाहरुको ज्यान गएको घटनाप्रति एमालेले दुःख व्यक्त गरेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि एकपटक उदाङ्गो भएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछाने भन्नुहुन्छ ‘आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको छ।
आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति निकालेर स्वदेशमा गरी खान पाउने वातावरण नपाएका बेरोजगार युवालाई सरकारले संयमता गुमाएर गोली प्रहार गरेको आरोप लगाउनुभएको छ ।