काठमाडौं ।
प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा झण्डै २८ करोड रुपैयाँ सङ्कलन भएको छ । जाजरकोट भूकम्पबाट प्रभावितका लागि कोषमा विभिन्न संस्था तथा व्यक्तिबाट अहिलेसम्म २७ करोड ९१ लाख ८९ हजार ८ सय ९९ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम भैरहेको छ ।
अहिलेसम्म १५ हजार ४ सय अस्थायी आवास निर्माण भएका छन् भने १० हजार ३ सय निर्माणको अन्तिम चरणमा रहेकाे सरकारले बताएको छ । भूकम्पबाट २६ हजार ५ सय २८ घरमा पूर्ण रूपमा र ३५ हजारभन्दा धेरैमा आंशिकरुपमा क्षति पुगेको तथ्याङ्क छ ।
अस्थायी आवास निर्माण गर्न चार अर्ब ७९ करोड रुपैयाँ आवश्यक पर्ने र अहिलेसम्म चार अर्ब ७१ करोड निकासा भइसकेको सरकारले जनाएको छ ।