नयाँ दिल्ली ।
रणवीर कपूरको एनिमल फिल्म हलमा रिलिज भएको डेढ महिना भइसकेको छ । तर यो फिल्मसम्बन्धी विवाद सकिने कुनै संकेत छैन । फिल्म अब ओटीटीमा रिलिज हुने तयारी भइरहेको छ । तर यसमा रोक लगाउने माग आएको छ । यस पटक फिल्मबारे आपत्ति बाहिरबाट आएको होइन फिल्मकै एउटा प्रडक्शन हाउसले दर्ता गराएको हो । एनिमलको को–प्रड्युसर सिने–वन स्टुडियोजले यो माग गरेको हो ।
संदीप रेड्डी वांगाको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा धुँवाधार कमाई गर्यो । तर फिल्मको कहानी, हिरोको प्रेजेन्टेशन र डाइलगका कारण यो लगातार विवादित बन्यो । कयौं दृश्यमा पनि आपत्ति जनाइएको थियो । तर यति हुँदाहुँदै पनि फिल्मको कमाइमा कुनै असर परेन । लगातार एक महिना फिल्मले बक्स अफिसमा लोभलाग्दो कमाइ गर्यो अनि ९०० करोड क्लबमा आफ्नो स्थान बनायो ।
भुषण कुमारको प्रडक्शन हाउस टी–सीरिजको ब्यानरमा बनेको फिल्मको सिने–वन स्टुडियोज यसको को–प्रड्युसर रहेको थियो । फिल्मलाई जनवरी २६ मा ओटीटीमा रिलिज गरिदैं थियो ।
तर फिल्ममा मुनाफाको हिस्सा नपाएको भन्दै सिने–वनले टी–सिरिजविरुद्ध मुद्दा दर्ता गर्दै ओटीटी रिलिजलाई रोक्ने माग गरेको छ । फिल्मबारे भएको सम्झौतालाई उल्लंघन गरिएको र आफूलाई सुको पैसा नदिइएको दाबी सिने–वनले गरेको छ । आफूले सिने–वन स्टुडियोजलाई २ करोड ६० लाख भारु दिएको टी–सीरीज र अर्को को–प्रडयुसर सुपर क्यासेट्स इंडष्ट्रिज प्रा. लि.को तर्क छ ।
एजेन्सी ।