रुपन्देही // देवदह ७ मा अवस्थित सगरमाथा आवासिय माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दलको तालिम लिएका विद्यार्थी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयले सोमबार एक कार्यक्रम बिच नेपाल सरकारद्धारा सञ्चालित सि.संं. ४९ जुनियर डिभिजन एन.सि.सि प्रशिक्षणमा सहभागी विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
तालीमको १०० दिनमध्ये विद्यालयमै हरेक दिन दुई घन्टाका दरले ७९ दिन र २१ दिन नेपालगञ्ज स्थित श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगरमा प्रशिक्षण लिएका थिए ।
विद्यालयमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले शिक्षामा राष्ट्रभक्तिको सुगन्ध हुनुपर्ने कुरामा जोड दिदै प्रशिक्षार्थीले सिकेको ज्ञान र सीप यही देशको समृद्धिमा खर्चिनु पर्ने बताउनुभयो । सोहि अवसरमा प्रशिक्षक एल.सि.पि.एल रामिराम दयालले अनुशासनपूर्वक तालिम सम्पन्न गरी विभिन्न पुरस्कार र दर्जा प्राप्त गरेका विद्यार्थीहरुलाई भविष्यमा देशको सुरक्षा गर्ने महान् कार्यमा लाग्न प्रेरित गर्नुभयो ।
तालिममा सहभागी विद्यार्थीहरु मध्ये अंकिता खनालले प्लाटुन जुनियर अण्डर अफिसर र श्रीस पौडेलले कम्पनी स्टाफको दर्जा हासिल गरेका थिए । त्यसैगरी सहभागी विद्यार्थीहरु ३ जना सर्जेन ५ जना कपरेल, ६ जनाले लेस कपरेल र २० जनाले क्याडेटको दर्जा प्राप्त गरेका थिए । तालिम समापनको पूर्व सन्ध्यामा आयोजित नृत्य प्रतियोगितामा सगरमाथाका विद्यार्थीहरुले तृतीय स्थान हासिल गरेका थिए ।
कार्यक्रम विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा र एन सि.सि संयोजक जीवन तामाङ्गको सञ्चालनमा सम्पन्न भयो ।