देवदह ।
रुपन्देहीको देवदह नगरपालिकाले खानेपानी समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्नका लागि नगरभित्र सञ्चालित खानेपानी संस्थाहरुका बिचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाले खानेपानीको सेवा विस्तार तथा शुद्ध खानेपानीको वर्तमान अवस्था सहित वार्षिक प्रगती समीक्षा समेत गरेको छ ।
देवदह नगरभित्र सञ्चालित साना तथा ठुला सबै खानेपानी संस्थाहरुका बिचमा गरिएको कार्यक्रममा खानेपानीको सेवा बिस्तार गर्ने, खानेपानीको शुद्धताको लागि ल्याब स्थापनाको लागि प्रक्रिया अगाडी बढाउने, समग्र नगरभरी नै खानेपानीको एकीकृत योजना बनाउने, स–साना समुहमा रहेका उपभोक्ता समितिहरुलाई एकीकृत गर्ने विषयमा गम्भिर छलफल भएको थियो ।
त्यस्तै खानेपानीका पुर्वधार मर्मत गर्नका लागि खानेपानी मर्मत सम्हार कोष स्थापना गर्ने, देवदह नगरपालिकामा खानेपानी समस्या समाधानका लागि खानेपानी शाखाको संस्थागत बिकास गर्ने लगायतका विषयमा छलफल गरिएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी गराउनुभएको थियो ।
नगरभित्रका १२ वटा खानेपानी संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो उक्त कार्यक्रममा भएको छलफलबाट आएको निष्कर्षलाई सम्बन्धित निकाय मार्फत कार्यान्वयन गरी देवदह नगर क्षेत्रमा खानेपानी समस्याको दीर्घकालिन समाधान गरिने र सबै देवदहवासीलाई शुद्ध पिउनेपानी उपलब्ध गराउने गरी नगरपालिका अगाडि बढेको नगर प्रमुख धुव्रप्रसाद खरेलले बताउनुभएको थियो ।
देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा भएको बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, उपसचिव टिकाराम शर्मा, खानेपानी संस्थाका प्रमुख÷पदाधिकारी तथा व्यवस्थापकहरु, शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा रहेको थियो ।