रुपन्देही ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा बुटवल र तिलोत्तमाका बिभिन्न संघसंस्थामा नवनिर्वाचित पदाधिकारीसहित प्रहरी प्रमुखलाई स्वागत तथा सम्मान गरिएको छ । हालै सम्पन्न रुपन्देही व्यापार संघको २२ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष दिपक अधिकारी सहित पदाधिकारी र सदस्यहरुलाई पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा सम्मान गरिएको छ । साथै शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको हालै सम्पन्न ७ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष किशोर सुवेदी क्षेत्रीसहित पदाधिकारी र सदस्यहरुलाई पनि प्रा.ली.ले सम्मान गरेको छ । सो अवसरमा हालै बुटवलमा सरुवा भई आउनु भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितलाई समेत प्रालिले स्वागत तथा सम्मान गरेको थियो ।
स्वागत तथा सम्मान कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात ब्यवसायी र उद्योगी व्यापारीहरु बिचको सहकार्य आवश्यक रहेको चर्चा गर्दै एकताबद्ध भएर अघि बढेमा हरेक समस्या समाधान गर्न सकिने बताउनुभयो । सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन न आउदासम्म यातायात व्यवसायी र यातायात क्षेत्रको विकास हुन नसक्ने बताउंदै बजार मुल्य र तेलको मुल्य आकाशिदै जानु बैज्ञानिक भाडादर कायम नहुनु आदी कारणले गर्दा व्यवसायी पलायन हुन वाध्य भएको अध्यक्ष खरेलले बताउनुभयो ।
सामाजिक दायित्व पुरा गर्ने क्रममा विभिन्न संघसंस्थासँग हातेमालो गर्नु जरुरी रहेको बताउदै प्रा.लिले विगतदेखि नै स्वागत तथा सम्मानको कार्य गर्दै आएको छ ।