काठमाडौं ।
बालश्रम अन्त्यका लागि तत्काल काम गर्न ग्लोबल प्यानलले आह्वान गरेको छ । विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौंमा आयोजना भएको प्यानलले यस्तो आव्हान गरेको हो । बालश्रम अन्त्यका लागि काम गर्ने ग्लोबल प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले विश्व सामाजिक मञ्च २०२४ को अवसरमा सीएसओज फोरम अन एसटिजी ८.७ नेटवर्कले अधिकारकर्मी र सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त छलफल कार्यक्रममा बोल्दै अधिकारकर्मी मिलन धरेलले विश्वभरि अहिले करिव १६ करोडको हाराहारीमा बालबालिका श्रममा रहेको तथ्यांक सार्वजनिक भएको बताउँदै अर्को विश्व सम्भव छ भनिरहँदा बालश्रम नभएको विश्वको परिकल्पना गरिएको बताए । उनले भने, विश्वको यति ठूलो जनसंख्या बालश्रममा रहेको तथ्य बाहिर आइरहँदा जनचेतनाको कमी, गरीबी र अभाव मात्रै बालश्रमको कारण हो भन्न सकिने अवस्था छैन । बालश्रम युद्ध र राजनीतिक विषयको रुपमा पनि रहेको देखिन्छ ।
नेपालमा बालश्रमको अवस्थाको बारेमा चर्चा गर्दै अधिकारकर्मी मनिराम आचार्यले यहाँ बालश्रम सामाजिक रुपमा स्वीकार गरिएको विषय भएको बताए। वयस्क श्रमिकहरूको सहभागिता नहुँदा बालश्रम बढ्दो क्रममा रहेको बताउँदै ट्रेड युनियनकर्मी स्मृती लामाले मर्यादित श्रममा बालश्रम रोक्न श्रोत मै काम गर्नुपर्ने बताइन । अधिकारकर्मी रञ्जना शर्माले बालश्रम एउटा क्षेत्रबाट अर्को क्षेत्रमा सरिरहेकोले यो लुकेको अवस्थामा गइरहेको बताइन ।
कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका अधिकारकर्मी, सरोकारवाला, नागरिक समाज लगायत विदेशी संघ संस्थाका गरि २ सय भन्दा बढि सहभागीहरू थिए ।
नेपाल गुडविभ फाउण्डेशनका हेम मोक्तानका अनुसार नेटवर्कले श्रम मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको छ । बालश्रम, बाध्यकारी श्रम र मानव बेचविखनका सबालमा श्रम मन्त्रलायले गरेका कार्यक्रमहरूको आधारमा मुलुक भित्र कस्तो उपलब्धि भएको छ भनेर ग्लोबल रिर्पोट तयार गर्ने र सरोकारवाला निकायमा पठाउने काम गर्ने उनले बताए । ग्लोबल प्यानलले बाल श्रमको क्षेत्रमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न, बाल अधिकारको रक्षा गर्न र बालश्रम शोषण रोक्न प्रभावकारी र शसक्त प्रयासहरूको तत्काल आवश्यकता रहेको औँल्याएको थियो । ग्लोबल प्यानलको छलफलमा बालश्रमको अन्त्य र बालअधिकारका सबालमा उठेका प्रश्न र प्राप्त भएका सुझावका आधारमा विभिन्न ८ बुँदे माग जारी गरेको छ ।