एजेन्सी ।
हिजोआज हामीले मेकअपका अनेकौँ साधन देखेका छौँ, प्रयोग गरिरहेका छौँ । लिपस्टिकको मात्रै कुरा गर्ने हो भने पनि अनेकौँ खालका पाइन्छन् । तर प्राचीन समयमा मेकअप कस्तो हुन्थ्यो होला ? तिनको प्रयोग कसरी हुन्थ्यो भन्नेबारे हामीसँग निकै कम जानकारी छन् ।
यसबारे पुरातत्वविद्हरूले एउटा बलियो प्रमाण फेला पारेका छन् । पुरातत्वविद्हरुले विश्वको सबैभन्दा पुरानो दाबी गरिएको लिपस्टिक फेला पारेका छन् । यसलाई करिब ४ हजार वर्षअघिका महिलाहरूले प्रयोग गर्ने गरेको बताइएको छ । अनुसन्धानकर्ताहरूले इरानको जिरोफ्ट क्षेत्रमा गाढा रातो पेस्टको सानो सिसी फेला पारेका थिए । सबैभन्दा पहिला यसको पहिचान रातो बोतलको रूपमा मात्रै गरिएको थियो ।
कहाँ र कहिले बनाइएको थियो यो प्राचीन लिपस्टिक ?
शीशीको पातलो आकार र मोटाई हेर्दा यसलाई सहजैसँग समातेर प्रयोग गर्न सकिने पुरातत्वविद्हरू बताउँछन् । लिपस्टिक कहिले र कहाँ बनाइएको थियो भन्ने प्रमाण अहिलेसम्म फेला परेको छैन । तर यसले प्राचीन इरानमा सौन्दर्य सामाग्रीहरूको पुरानो परम्पराबारे बताउने वैज्ञानिकहरूको विश्वास छ । यस क्षेत्रमा सोर्मेह नामक कालो धुलोबाट बनेको आइलाइनर पुरुष र महिला दुवैले व्यापक रूपमा प्रयोग गर्थे । त्यसबेलाका इरानीहरूले एक खालको विशेष पाउडरले आफ्नो गाला र आँखी भौँ सजाउने गर्थे ।