देवदह ।
देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता हुने भएको छ । बिहिबार खैरेनीस्थित पाठक फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दै नेपाल वादोरियो करातें डो संघ, लुम्बिनी प्रदेशले फागुन २५ र २६ गते खुल्ला करातें प्रतियोगिता हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीले पाँच वटा देशका खेलाडीको सहभागितामा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला करातें प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानका ३०० जना खेलाडी सहभागी हुने जनाईएको छ ।
पाठक फुडल्याण्डको सभाहलमा हुने प्रतियोगितामा पुरुष तर्फ ७ वटा र महिला तर्फ ७ गरि १४ स्वर्णको लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
पत्रकारसंग कुरा गर्दै संघका लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष शोभाखर पन्थले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनमा २० लाख ५० खर्च हुने अनुमान गरिएको बताए । खेललाई पर्यटनसंग जोडेर देवदहको समग्र विकासमा प्रतियोगिताले योगदान दिने उल्लेख गर्दै पन्थले ३०० जना प्रतियोगीलाई देवदहका सबै पर्यटकीय स्थलमा घुमाउने बताए ।
प्रतियोगितामा लुम्बिनी प्रदेश खेलकुद परिषदसहित देवदह नगरपालिका र विभिन्न संघसंस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाएको आयोजकले जानेको छ ।