काठमाडौं ।
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा वर्षा भईरहेको छ । बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको हो ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का हिमपात समेत भइरहेको छ ।
कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागमा दिउँसो आंशिकदेखि साधारणतया बदली रहने छ भने यी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।