काठमाण्डौ ।
ह्यारी केनले बुन्डेस लिगमा ३३ औँ गोल गर्दा बायर्न म्युनिखले युनियन बर्लिनविरुद्ध ५–१ को सहज जित हासिल गरेको छ । खेलको २९ औँ मिनेटमा लियोन गोर्टेज्काले बायर्नलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा फ्रि–किकबाट गोल गर्दै केनले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा पनि बायर्नले गोल वर्षा जारी राख्यो । थोमस मुलरले दुई गोल थपे भने म्याथस टेलले एक गोल गरे । योर्बे भरटेसेनले खेलको अन्त्यमा बर्लिनका लागि सान्त्वना गोल गरे ।
लिग गुमाइसकेको बायर्न यो सिजन दोस्रो स्थानमा कायम रहन प्रयासरत छ । टोली ३० खेलबाट ६६ अङ्क बटुल्दै तालिकामा तेस्रो स्थानमा रहेको स्टुटगार्टभन्दा ३ अङ्कले अघि छ । यद्यपि, स्टुटगार्टले एक खेल कम खेलेको छ । – एजेन्सी