काठमाण्डौ ।
पाँचथरमा एउटा अचम्मको घटना घटेको छ । सुन चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । फिदिम नगरपालिका-१ का २८ वर्षीय सुरेन्द्र योङ्याले चोर्न गएका बेला एक तोला सुन निलेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको हो।
प्रहरीका अनुसार योङ्या गत चैत २८ गते विष्णुकुमारी तामाङको घरमा चोरी गर्न गएका थिए । तेति बेला सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट रु १५ हजार नगद बरामद गरिएको थियो । पछि उनको एक्स-रे गरियो । एक्स रे गर्दा योङ्याको पेटमा सुन देखिएको हो।