काठमाण्डौ ।
अमेरिका र यूरोपेली संघ (ईयू) जस्ता महाशक्तिहरूले आगामी पुस्ताको चिप चिप बनाउन झन्डै ८१ अर्ब डलर लगानी खन्याएका छन् । चिप बजारमा चीनको दबदबा सुस्त बनाउन पश्चिमी देशहरूले चिप उद्योगमा लगानीको खोलै बगाइरहेका छन् । अहिले प्रयोगमा आइरहेका भन्दा थप शक्तिशाली माइक्रोप्रोसेसर बनाउन इन्टेल, ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) जस्ता कम्पनीमा लगानीका लागि विश्वभरका सरकारहरूले ३ खर्ब ८० अर्ब डलर छुट्याएका छन् ।
चिप प्रविधिमा चीनसँग अमेरिकाको प्रतिस्पर्धा जारी रहँदा लगानीको आकार बढ्दै गइरहेको छ । चीन र अमेरिकाबिच केही वर्षयता प्रविधि खासगरी चिप उद्योगमा कडा प्रतिस्पर्धा चलिरहेको छ । चीन र अमेरिका दुबैले चिपमा लगानीलाई आफ्नो शीर्ष राष्ट्रिय रणनीतिक लक्ष्य नै बनाएका छन् । अमेरिका र उसका मित्र देशहरूले चिप उद्योगमा गरेको लगानीको फल पाउन कयौँ वर्ष लाग्नेछ । तर यसले चीनको दशकौँदेखिको औद्योगिक नीतिमा नयाँ चुनौती दिने देखिन्छ ।
अमेरिकाले गएको महिना माइक्रोन टेक्नोलोजी इंकलाई ६ अर्ब १० करोड डलरको अनुदान दिएको थियो । यसअघि पनि इन्टेल, टीएसएमसी र सामसङ लगाष्त कम्पनीमा झन्डै ३३ अर्ब डलर लगानीको वाचा गरिएको छ । अमेरिकाले गरेका यी लगानीहरूले चीनलाई त टक्कर दिने छ नै उन्नत चिप प्रविधिमा कयौँ पुस्तासम्मको अन्तर पनि भर्नेछ । यसले यूरोप र एसियाका चिप निर्माता कम्पनीहरुबीच प्रतिस्पर्धा पनि बढाउनेछ ।
चीनले चिप उद्योगमा १ खर्ब ४२ अर्ब डलर लगानीको घोषणा गरेको छ । अमेरिकाले चिप निर्माणमा झन्डै ३९ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ भने छूटलगायत उपायमा अर्को ७५ अर्ब डलर खर्च गर्दैछ । जापान र दक्षिण कोरियाले पनि क्रमशः ५५ अर्ब र २५ अर्ब डलर लगानी गर्दैछन् । जर्मनी, स्पेन र ईयूले पनि क्रमशः साढे २१ अर्ब, १२ अर्ब र ४६ अर्ब ३० करोड डलर लगानी गर्दैछन् । भारतले पनि चीन उद्योगका लागि १० अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । सबै देशहरूले चिप उद्योगमा धमाधम लगानी खन्याइरहँदा विश्वभर चिप युद्ध भड्किने निश्चितप्रायः बन्दै गएको छ ।
-एजेन्सी