काठमाण्डौ ।
बार्सिलोनाले मुख्य प्रशिक्षक ज्याभीलाई बर्खास्त गर्ने तयारी गरेको छ । ४४ वर्षीय पूर्व खेलाडीले जनवरीमा सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका थिए तर क्लबका अध्यक्ष जोन लापोर्टाले उनलाई क्लबमै बस्न मनाएका थिए । यद्यपि, हालैको पत्रकार सम्मेलनमा ज्याभीको टिप्पणीले क्लबको बोर्डलाई क्रोधित गरेको देखिन्छ । बोर्डले अब स्पेनका पूर्व मिडफिल्डरलाई हटाउने तयारी गरेको हो । उनको स्थानमा बार्सिलोना बी टिमका म्यानेजर राफेल मार्केजलाई जिम्मेवारी सुम्पिने चर्चा छ ।
अल्मेरियामा बिहीबारको खेलअघि, ज्याभीले प्रतिद्वन्द्वी रियल म्याड्रिड र युरोपका अन्य शीर्ष टोलीहरूसँग आर्थिक रूपमा प्रतिस्पर्धा गर्न गाह्रो हुने बताएका थिए ।
रियलले यस अवधिमा ला लिगाको उपाधि जितेको छ भने च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । क्लबले अर्को सिजन पेरिस सेन्ट जर्मेनबाट फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पेलाई अनुबन्ध गर्नेछ। दुई खेल बाँकी रहँदा बार्सिलोना लिगमा रियल मड्रिडभन्दा १४ अंकले पछि छ ।
ज्याभीले नोभेम्बर २०२१ मा कतारी क्लब अल साद छोडेर बार्साको जिम्मेवारी सम्हालेका थिए । २०२२-२३ मा आफ्नो पहिलो पूर्ण सिजनमा बार्सालाई स्पेनिस ला लिगाको उपाधि दिलाएका थिए। तर पीएसजीसँग पराजित भएपछि स्पेनिस महारथि यस सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । -एजेन्सी ।