काठमाण्डौ ।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा आक्रमण भएको छ । आक्रमणबाट आफू स्तब्ध भएको प्रधानमन्त्रीले बताएकी छन । प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीमाथि हातपात गरेका हुन् ।
डेनमार्कको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शुक्रबार, कोपेनहेगनको कुल्टोरवेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो। आक्रमणकारी पक्राउ परेका छन् । यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएकी छन् ।’
आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । युरोपेली आयुक्त उर्सुला भोन डर लेयनले यसलाई ‘घृणित कार्य’ भनेकी छन्। यो युरोपका जनताले विश्वास गर्ने र लड्ने सबै कुराको विरुद्धमा जाने उनको भनाई छ ।
-एजेन्सी