काठमाण्डौ ।
भारतको उत्तर प्रदेश राज्य प्रदेश राज्यको भदोहीमा जन्तीसहित बेहुला आइसकेको अवस्थामा बेहुलीले विवाह गर्न अस्वीकार गरेको घटना प्रकाशमा आएको छ। फत्तुपुर निवासी शीलादेवीकी छोरी पिङ्कीको विवाह जौनपुर जिल्लाको जयरामपुर निवासी गौतम नाम गरेका युवकसँग हुने निधो भएको थियो । सोही अनुसार गौतम जन्तीसहित बुधबार बेलुका बेहुलीको घरमा विवाहका लागि पुगेका थिए ।
स्वयंवर अघि नै बेहुलाले अस्वाभाविक गतिविधि गरेपछि बेहुलीले चासो राखेकी थिइन् । बेहुलाले मदिरा पिएको र मञ्चको पछाडि गएर गाँजा सेवन गरेको देखेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी थिइन् ।
यस क्रममा बेहुली पक्षले बेहुला, उनका पिता जयप्रकाश र हजुरबुबा मेवा लाललाई बन्धक बनाएर विवाहको तयारीमा लागेको ८ लाख रुपैयाँ खर्च माग गरेका थिए ।दुवै पक्षबिच विवाद भएपछि प्रहरी आएर मामिला सुल्झाएको थियो । प्रहरीका अनुसार बेहुलीले विवाह गर्न नमानेपछि बेहुला र जन्ती बिहीबार त्यसै फर्किएका छन् । -एजेन्सीको सहयोगमा