काठमाण्डौ
अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्ट पुनः विश्वको सर्वाधिक मूल्यवान् कम्पनी बनेको छ । बिहीबारको कारोबारमा कृत्रिम बौद्धिकतामा आधारित चिप बनाउने कम्पनी एनभिडियाको शेयर मूल्य साढे ३ प्रतिशतले घटेपछि कम्पनीलाई उछिनेर माइक्रोसफ्ट शीर्ष स्थानमा आएको हो । मंगलबारयता एनभिडिया ३३ खर्ब ४० अर्ब डलर बजार पुँजीकरणसहित सर्वाधिक मूल्यवान् कम्पनीको रूपमा रहेको थियो ।
तर बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता १३० डलर ७८ सेन्टमा झरेपछि कम्पनीको बजार पुँजीकरण पनि ३२ खर्ब २० अर्ब डलर आसपासमा ओर्लियो । सोही समयमा ३३ खर्ब डलर बजार पुँजीकरणसहित माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बन्यो । प्रविधि क्षेत्रमा एआईमा आधारित चिपलाई विश्लेषकहरूले प्रविधिको क्षेत्रमा नयाँ सुन वा तेल भनेर व्याख्या गरिरहँदा हालैका महिनाहरूमा एनभिडियाको शेयर मूल्य बढिरहेको थियो ।
पछिल्लो कयौँ महिनादेखि विश्वको सर्वाधिक मूल्यवान् कम्पनी बन्ने होडबाजीमा एनभिडिया, माइक्रोसफ्ट र एप्पल छन् । यी तीन ओटै कम्पनीको बजार पुँजीकरण ३० खर्ब डलर माथि छ । एनभिडिया केही समय मात्रै शीर्ष स्थानमा रहेको भए पनि यी तीन कम्पनीबिच शीर्ष बन्ने होडबाजी डरलाग्ने हुन सक्ने केही विश्लेषकहरूले भविष्यवाणी गरेका छन् । अर्को वर्षसम्ममा यी कम्पनीहरूबिच बजार पुँजीकरण कसले सबैभन्दा पहिला ४० खर्ब डलरमा पुर्याउने भन्ने हुने यही हप्ताको सुरुमा एक नोटमा वेडबस सेक्युरिटिजले लेखेको थियो ।
-एजेन्सी