काठमाण्डौ ।
जलवायु परिवर्तनको प्रभाव विश्वभर परिरहेकै बेला यसको असर युद्धग्रस्त क्षेत्र गाजाामा पनि पर्ने विश्लेषण गरिएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अत्यधिक गर्मीले प्यालेस्टाइनको गाजामा ठूलो मानवीय संकट आउन सक्ने चेतावनी दिएको छ ।
डब्ल्यूएचओका गाजा र वेस्ट बैंकका प्रतिनिधि रिचर्ड पिपरकोर्नले हमास र इजरायलको युद्धका कारण विस्थापित भएका लाखौँ सर्वसाधारण चर्को गर्मीको शिकार हुन सक्ने चेतावनी दिनुभएको हो ।
यस्तै लामखुट्टे, सर्प र झिँगा जस्ता जीवका कारण पनि विस्थापितको शिविरमा विभिन्न प्रकोप फैलन सक्ने डब्ल्यूएचओको चेतावनी छ । गाजाका हजारौँ विस्थापित सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गरेको छ ।
गाजाका विभिन्न ठाउँमा झन्डै १२ लाख शरणार्थी रहेका छन् । अहिले संसारका विभिन्न ठाउँमा गर्मीको कारण सयौँ जनाको ज्यान गइरहेको बेला गाजामा पनि गर्मीले जनजीवन कष्टकर बनाउन सक्ने डब्ल्यूएचओको चेतावनी छ । -एजेन्सी