काठमाडौँ ।
तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।
जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमको आयोजना गरेको थियो ।
विसं २०४९ माघ १४–२० मा सम्पन्न भएको एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीले प्रस्तुत गरेको र पारित भएको ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।
विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भण्डारीको जन्म भएको थियो । उहाँको विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परेर निधन भएको थियो जुन घटना अहिलेसम्म रहस्यमय नै बनेको छ ।