काठमाडौं ।
शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न स्वस्थकर खानपान, व्यवस्थित जीवनशैली र व्यायामको जरुरी हुन्छ । यसमा अर्को छुटाउनै नहुने कुरा हो निद्रा । एक वयस्क व्यक्तिलाई दैनिक सातदेखि आठ घण्टा अनिवार्य सुत्नु जरुरी हुने चिकित्सकहरु बताउँछन् । बालबालिकाले १०-१२ घण्टा र वृद्ध उमेरका व्यक्तिले कम्तीमा ६-७ घण्टा सुत्नु आवश्यक हुन्छ ।
तर अहिलेको व्यस्त जीवनशैली, तनाव, गलत खानपानले राति राम्ररी निद्रा नपर्ने समस्याबाट धेरै व्यक्ति पीडित छन् । यसमा कुनै रोगले पनि निद्रामा असर पुर्याउन सक्छ ।
अझ कामकाजी व्यक्तिलाई रातभर निद्रा नपर्दा भोलिपल्ट दिनभर कार्यालयको कामै बाधा पुग्छ । थकान र आलस्यले कामै प्रभावित हुने अवस्था आउन सक्छ ।
निद्राको कमीले काममा ध्यान केन्द्रित हुन नसक्नुका साथै टाउको दुख्ने, चिडचिडापन, पाचन प्रक्रियामा गडबडी जस्ता समस्या निम्तिन्छन् । राति निद्रा नआउने वा आएपनि ढिलो आउने हुन्छ भने केही उपाय अपनाउन सकिन्छ । जुन उपायले राम्रो र गहिरो निद्राका लागि यथेष्ठ फाइदा पुग्छ, जसले स्वास्थ्यलाई फाइदा पुर्याउँछ
राम्रो र गहिरो निद्राका लागि के गर्ने ?
– राम्रो र गहिरो निद्रा पाउन चाहनुहुन्छ भने ओछ्यानको सरसफाइमा ध्यान दिनुहोस् । जति सफा र चिटिक्क ओछ्यान हुन्छ त्यति नै गहिरो र छिटो निद्रा पर्छ । ओछ्यानमा उज्यालोले समस्या बनाउँछ भने ब्लाकआउट कटनको प्रयोग समेत गर्न सकिन्छ । यसले कोठाको उज्यालो र तापमानलाई पनि सन्तुलनमा राख्न सहयोग पुर्याउँछ । जसकारण राम्रो निद्रामा सहयोग पुग्छ ।
– हाम्रो शरीरभित्र एक बायोलोजिकल घडी हुन्छ, जसलाई सर्केडियन रिदम भनिन्छ । यो तपाईंको सुत्ने र उठ्ने समयलाई प्रभावित बनाउँछ । त्यसैले राम्रो निद्राका लागि हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने गर्नुपर्छ । यसले तपाईंको निद्राको समस्या कम गर्न मद्दत गर्छ ।
– त्यस्तै सुत्नुअघि ध्यान वा मेडिटेसन गरे तनाव कम हुन्छ र राम्रो निद्रा पर्छ ।
– सुत्नुभन्दा केही घण्टा अघि हल्का खानेकुरा खानु राम्रो हुन्छ । चिल्लो, तारेको र मसालेदार खानेकुराले पाचन प्रणालीमा समस्या ल्याउने भएका निद्रा पर्नमा समस्या ल्याउँछ । पेट गडबडी हुने, पेट दुख्ने जस्ता समस्या आउँदा राति निद्रा बिथोलिन्छ ।
– अहिले मोबाइल, ल्यापटप, कम्प्युटर विनाको जीवन सोच्न सकिंदैन । तर राति सुत्नुअघि यी कुरामा भुल्दा ब्लु लाइटका कारण निद्रामा असर पुग्छ । जसकारण राम्रो निद्रा पर्नमा समस्या सिर्जना हुन्छ । त्यसैले राति सुत्नुभन्दा केही समयअघिबाटै यी कुराको प्रयोग नगर्नु राम्रो हुन्छ ।
-एजेन्सीको सहयोगमा