काठमाण्डौ ।
आज ४२औ बीपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो ।
कोइराला २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो । उहाँले नेपाली साहित्यको क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।
जीवनको लामो समयसम्म काँग्रेसको नेतृत्व गरी २०१५ सालको आमचुनावमा पार्टीले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो ।