बुटवल ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता चेत नारायण आचार्य नियुक्त भएका छन्।प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित ५६ जनाको समर्थन छ । यसअघि सोमबार नै आचार्यले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्य एमाले संसदीय दलका उपनेता हुन्।
अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। त्यसपछी एमाले दलका नेता लिला गिरी नेतृत्व सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री भए। माओवादी नेता जोख बहादुर महराको नेतृत्वको सरकारमा भने आर्थिक मामिला तथा योजना मन्त्री थिए। एमाले संसदीय दलका नेता लीला गिरी भए पनि अन्तिममा आचार्यलाई केन्द्रबाट मुख्यमन्त्री बनाउन निर्देशन भएको थियो।
पार्टिले मुख्यमन्त्रीमा आचार्यलाई अघि सारेसंगै एमाले दलका नेता गिरीले पार्टी संसदीय मूल्य मान्यता विपरीत जाँदा इमान्दार कार्यकर्ता अन्यायमा परेको क्षोभ प्रकट गरे । उनले यो निर्णय प्रती असन्तुष्टि जनाउदै पार्टी संसदीय मूल्यमान्यता विपरीत अघि बढेको टिप्पणी गरे।