गोविन्द घर्ती, देवदह । राष्ट्रियताको पक्षमा एमालेले लिएको अडानका कारण पार्टीको विरुद्ध घेरावन्दी भएको केन्द्रिय सदस्य खिमलाल भट्टराईले बताउनु भएको छ। उहाले नेकपा एमालेलाई कमजोर बनाउनको लागि देशी विदेशी शक्तिहरु लागिरहेको बताउदै फागुन २१ गते हुने निर्वाचन मार्फत उनीहरुलाई जवाफ दिनु पर्नेमा जोड दिनु भयो ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नम्वर १, रुपन्देहीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । पार्टीका रुपन्देही ईन्चार्ज समेत रहनु भएका भट्टराईले देशको अवस्था परिवर्तन गर्नेगरी एमाले निर्वाचनमा होमिएको बताउनु भयो । उहाले नया शक्तिहरुबाट देशको आमुल परिवर्तन सम्भव नभएकोले समृद्धि नेपाल निर्माणको लागि नेकपा एमालेको सरकार आवश्यक रहेकोमा जोड दिनु भयो । नेता भट्टराईले देश र जनताको हितको लागि नेकपा एमालेले जित्न आवश्यक रहेको बताउदै सोही अनुसार पार्टीका कार्यकर्ताहरु निर्वाचनमा होमिन आग्रह गर्नु भयो । उहाले एमालेलाई कमजोर बनाएर देशमा हालीमुहाली गर्न खोज्ने शक्तिहरुलाई निर्वाचनको माध्यमबाट निस्तेज पार्नुपर्नेमा जोड दिनु भयो ।
क्षेत्रीय समन्वय कमिटीका सचिव सुरेन्द्र श्रीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं क्षेत्र नम्वर १, रुपन्देहीका उम्मेदवार दधिराम न्यौपाने, केन्द्रिय अनुशासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्य धु्रवप्रसाद खरेल, प्रदेश कमिटी सदस्य जानकी न्यौपाने, जिल्ला अध्यक्ष यज्ञ गैरे लगायतले आ–आफना भनाई राखेका थिए ।
विस्तारित बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मंगलवार मनोनयन दर्ता गर्न जानको लागि उल्लेखनीय जनसहभागिता जनाउने निर्णय गरेको छ । जनसहभागिता जनाउनको लागि विभिन्न जिम्मेवारी समेत प्रदान गरिएको छ । देवदह–७, मा रहेको पार्टी कार्यालयबाट र्याली सहित शितलनगरमा रहेको निर्वाचन कार्यालयमा ३ पुगेर मनोनयन दर्ता गर्ने निर्णय भएको सो पार्टीले जनाएको छ । नेकपा एमालेबाट रुपन्देहीको क्षेत्र नम्वर १, मा दधिराम न्यौपाने, २, मा विष्णु पौडेल, ३, मा वासुदेव घिमिरे, ४, मा सुनिता ठठेर र ५ मा खिमलाल भट्टराईलाई पार्टीले टिकट प्रदान गरेको छ ।




