रुपन्देही । देश र राष्ट्रियता बचाउनको लागि नेकपा एमालेको सरकार आवश्यक रहेको एमालेका केन्द्रिय सदस्य दधिराम न्यौपानेले बताउनु भएको छ । उहाले देशको समृद्धि, शुसासन र अग्रगमनको लागि एमालेका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिनु भयो ।
नेकपा एमाले देवदह नगरपालिका–५, ७, ८ र ९ को विस्तारित भेलालाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेकपा एमालेको तर्फबाट रुपन्देहीको क्षेत्र नम्वर १ को उम्मेदवार समेत रहनु भएका नेता न्योपानेले नेकपा एमालेको सरकारले मात्र सुकुम्वासी समस्या समाधान गर्ने बताउनु भयो । उहाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारीले जित हासिल गर्ने दावी गर्नु भयो । उहाले गत भदौ २३ र २४ गते आन्दोलन नभई बिध्वंश भएको बताउदै देशलाई विखण्डन गर्न देशी विदेशी शक्ति लागिरहेको बताउनु भयो । क्षेत्रीय ईन्चार्ज समेत रहनु भएका नेता न्यौपानेले उमेर समुहले मात्र परिवर्तन हुन नसक्ने बताउदै त्यसको लागि विचार आवश्यक रहेको औल्याउनु भयो । उहाले नेकपा एमालेको उम्मेदवारलाई जिताउनको लागि पार्टीका कार्यकर्ताहरु एकतावद्ध भएर लाग्न आग्रह गर्नु भयो ।
शाखा कमिटीको विस्तारित भेलाले निर्वाचन परिचालन संगै विभिन्न जिम्मेवारी समेत बाडफाड गरिएको सो पार्टीले जानकारी दिएको छ । विस्तारित भेलाले निर्वाचन परिचालन, युवा परिचालन, विद्यार्थी परिचालन, महिला परिचालन, कार्यालय व्यवस्थापन, जनप्रतिनिधि समन्वय लगायतका विभिन्न उपसमिति गठन गरिएको पार्टीका नगर सचिव गणेश डुम्रेले जानकारी दिनु भयो ।
विस्तारित बैठकमा पार्टीका केन्द्रिय अनुसासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपाने, क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक प्रकाश अर्याल, हरि पाण्डे, खेमप्रसाद पाण्डे, दिलबहादुर सिंजाली, रेनुका पाण्डे, गिता सापकोटा लगायतले आ–आफना सुझावहरु राखेका थिए । देवदह–५, को शाखा कमिटी अध्यक्ष चक्रपानी न्यौपानेको अध्यक्षता, ७, को शाखा कमिटी अध्यक्ष रिता थापा, ८, को शाखा कमिटी अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा विस्तारित बैठक सम्पन्न भएको थियो ।




