२० कार्तिक,कञ्चन
रुपन्देहीमा ४ राजनैतिक दलहरुले सञ्चालन गरेको चुनाव बहिस्कार कार्यक्रमलाई प्रशासनले अवरोध गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (मशाल)ले प्रेस वक्तव्य जारी गरेको छ। रुपन्देहीमा संचालन भइरहेको शान्तिपूर्ण चुनाव बहिष्कार अभियानलाई सैनामैनाको मुर्गिया बजारमा प्रशासनले अवरोध पुर्याउने तथा ब्यानर खोस्ने कार्य गरेको भन्दै कुनैपनि प्रकारको अवरोध नपुर्याउन चेतावनी दिदै (मशाल)ले प्रेस बक्तव्य जारी गरेको हो।
नेकपा (मशाल) रुपन्देहीका प्रवक्ता दिपक पौडेलद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ “निर्वाचनमा भागलिने वा नलिने जनताको अधिकारको कुरा हो । यसकारण भोट दिनुस् वा यसकारण बहिस्कार गर्नुस् भनेर भन्न पाउने जनताको अधिकार हुन्छ । जनताको अधिकार कुण्ठित गर्नेगरी बहिस्कार अभियानमा पुर्याइएको अवरोधको हामीले तिब्र शब्दमा बिरोध गर्दछौं । मंसिर ४ गतेसम्म शान्तिपूर्ण तरिकाले हाम्रो बहिस्कार अभियान चलिरहने छ । ”
नेकपा (मशाल) सहित नेकपा क्रान्तिकारी माओवादी ,नेकपा बहुमत र माओवादी कम्युनिष्ट पार्टी नेपाल सहित ४ राजनैतिक दलहरुले गत कार्तिक १ गते देखि आसन्न मंसिर ४ को चुनाबलाई बहिस्कार गर्दै आइरहेका छन। यि दलहरुकै नेतृत्वमा रुपन्देहीको सैनामैना,बासगढी सालझण्डी,कञ्चनको गरगरे थकालीचोक र हरैया बजारमा चुनाब बहिस्कार सम्बन्धी कोणसभा गरेको थियो।