– मनजीत चौधरी
तिलोत्तमा। राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं. १(१) ले सोमबार देवदहको वडा नं १, ओमसतियाको वडा नं ६ र तिलोत्तमाको वडा नं ११ मा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले सबै विभेद र भ्रष्टाचारको अन्त्य गरी देशमा शान्ति, सुशासन र समृद्धि ल्याउनका लागि अब सम्पूर्ण जनसमुदायले जनमुक्तिलाई जिताउनु पर्ने अपिल गर्नुभयो । ठूला दलहरुले बारम्बार जनतालाई झुक्याएको आरोप लगाउँदै प्रदेश अध्यक्ष गुरुङ्गले अब जनताहरु झुठा आश्वासन र प्रलोभनमा नपरी देशकै एक सच्चा र इमान्दार जनमुक्ति पार्टीलाई एकपटक मौका दिनुपर्ने जिकीर गर्नुभयो ।
कार्यक्रममा बोल्दै पार्टीका जिल्ला अध्यक्ष एवं निर्वाचन क्षेत्र नं. १(१) का प्रदेश सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार प्रेम बहादुर थापाले जनमुक्तिले जितेर सत्तामा पुगेको खण्डमा राइट टु कोर्टको व्यवस्था कार्यान्वयनमा ल्याउने बताउँदै अब जनताहरु निराश हुनु नपर्ने दाबी गर्नुभयो । विदेशी दलालहरुले देशलाई विदेशीलाई सुम्पिसकेको आरोप लगाउँदै प्रदेश सभा सदस्य पदका उम्मेदवार थापाले राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमान जोगाउनका लागि जनमुक्ति नै अन्तिम विकल्प रहेको दाबी गर्नुभयो । कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष एवं प्रदेश सभाका समानुपातिक उम्मेदवार लिलमाया राना, रुपन्देही जिल्ला सचिव दिलमाया गुरुङ्ग, जनमुक्ति युवा संघ रुपन्देहीका पूर्व जिल्ला सचिव पहल राना लगायतको उपस्थिति रहेको थियो ।
अबको विकल्प भनेकै जनमुक्ति पार्टी हो- झमबहादुर गुरुङ्ग
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??