पाल्पा । नेपाल मजदुर किसान पार्टीले पाल्पाका मतदाताहरुसंग देशको सीमा सुरक्षा र सार्बभौकिता रक्षाका लागि मादलमा भोट मागिरहेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चुनाव प्रचार प्रसार गर्ने क्रममा पाल्पा जिल्ला क्षेत्र नं. २ का मतदाताहरुको घर घरमा पुगेर देशलाई सिक्किम बनाउन खोज्ने नेपाली लेण्डुप डोर्जेहरुलाई परास्त गर्न नेमकिपाको चुनाव चिन्ह मादलमा मतदान गर्न आग्रह गरेको हो।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट पाल्पा क्षेत्र नं. २ का उमेद्वार शिव सुन्दर धुख्वाले आफु देश बचाउने अभियानमा शिव सुन्दर धुख्वाको रुपमा नभई नेपाल मजदुर किसान पार्टीको झण्डा बोकेर एक सिपार्ही पाल्पामा आएको बताउनु भयो। उमेद्वार धुख्वाले ३० बर्षमा हाम्रो बिश्वासको मत लिएर संसद छिरेका यहाँका सांसदहरु मन्त्री भए, देशको उच्च ओहोदामा पुगे तर पाल्पाको मुख्य बिषय पिउने पानी र देशको रक्षाको लागि कहिल्यै गम्भिर नभएकै कारण आफुले भारतिय एकाधिकर पूँजी र अमेरिकी साम्राज्यवादको हस्तक्षेप बिरुद्धको संघर्षलाई चालु राख्न र संसदमा प्रखर प्रतिपक्षीको भुमिका निर्वाह गरी प्रजातन्त्र र जनअधिकारको रक्षा गर्न नेमकिपाको तर्फबाट आफुले पाल्पाको क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्यका लागि उमेद्वारी दिएको प्रस्ट पार्नुभयो।
उमेद्वार धुख्वाले मतदाताहरु बिच पाल्पाका सचेत मतदाताहरुले नेपमल मजदुर किसान पार्टीको देश बचाउने अभियान र नेपाली माटो सुहाउदो समाजवादोन्मुख देशको सन्तुलित बिकासका लागि पूँजीवजादी राज्यव्यबस्था सहितको कानुन बदल्न मादल चिन्हमा मतदान गर्नेमा आफु बिस्वस्त रहेको बताउनुभयो। नेमकिपाले बिहिवार पाल्पा क्षेत्र नं. २ को तान्सेन बजारका बसन्तपुर, कैलाशनगर, श्रीनगर, मेहलडाडा, माथिल्लो र तल्लो गैरा गाउँ, नारायणस्थान, भिमसेनटोल, भगवती टोल, मिसन अस्पताल क्षेत्र, चिलाङ्गदी, बगनासकालीको देउरालीडांडा, राम्दी, अगाहखोला, आर्यभङ्गज्याङ्ग लगायत क्षेत्रमा पार्टीको घोषणापत्र सहित चुनावी प्रचार प्रसार गरेको थियो।