एजेन्सी । पेरुका पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोमाथि महाअभियोग लगाइएपछि उपराष्ट्रपति डिना बोलुआर्टेले नयाँ राष्ट्रपतिका रूपमा शपथ लिनुभएको छ । योसँगै दक्षिण अमेरिकी देश पेरुले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । पेरुको संसद्ले राष्ट्रपति क्यास्टिलोलाई पदबाट हटाउने पक्षमा मतदान गरेको र बोलुआर्टेलाई उपराष्ट्रपतिबाट राष्ट्रपतिका रूपमा चयन गर्ने निर्णय गरेको थियो। सांसदलाई पहिलो सम्बोधन गर्दै डिना बोलुआर्टेले पेरुका पूर्वराष्ट्रपति पेड्रो क्यास्टिलोले बुधवार संसद् विघटन गर्ने निर्णयको आलोचना गर्नुभएको छ ।
बोलुआर्टेले ‘एकताको सरकार’ गठनका लागि राजनीतिक युद्धविरामका लागि सांसदलाई आग्रह गर्दै शासन सञ्चालनका लागि व्यापक संवादका लागि आह्वान गर्ने बताउनुभयो । पेड्रो क्यास्टिलोले विधायिका भङ्ग गर्ने र आपत्कालीन सरकार गठन गर्ने घोषणा गरेको केही समयपछि पेरुको संसद्को बहुमतको निर्णयले उहाँलाई हटाएर उपराष्ट्रपतिलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । पेरुको संविधानअनुसार संवैधानिक अदालतका अध्यक्ष फ्रान्सिस्को मोरालेसले उपराष्ट्रपति डिना बोलुआर्टेलाई राष्ट्रपतिको कार्यभार सम्हाल्न आग्रह गर्नुभएको छ । प्रहरीले पेड्रो क्यास्टिलोलाई लिमामा हिरासतमा लिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
पेरुको एक सय ३० सदस्यीय कांग्रेसका एक सय एक सदस्यले क्यास्टिलोविरुद्ध महाअभियोग लगाउने पक्षमा मतदान गरेका थिए । क्यास्टिलो सन् २०२१ जुलाईमा पेरुको राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । सीएनएनको रिपोर्टअनुसार सत्तामा रहँदा ‘भ्रष्टाचारका योजनाहरूको मुख्य योजनाकार’ को आरोपमा पाँच वटा प्रारम्भिक आपराधिक अनुसन्धानको सामना क्यास्टिलोले सामना गर्नुपर्नेछ ।