भक्तपुर नगरपालिकाका संस्थागत तथा सामुदायिक बिधालयका प्रधानाध्यापकहरुको भेला सम्पन्न भएको छ। प्रधानाध्यापकहरुको भेलालाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले गरेको काम देशैकै लागि उदाहरणीय र चर्चाको विषय बनेको बताउनु भएको छ। हिजोको अनुभवबाट आज काम गर्ने र आजको कामबाट भोलिको लागि विकास गर्ने सोचका साथ अगाडि बढिरहेको बताउदै नगरप्रमुख प्रजापतिले भक्तपुर नपाले हरेक काममा सम्बन्धित विषयविज्ञको सल्लाहबमोजिम अगाडि बढ्दै गएको बताउनु भयो। भक्तपुरका विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न विद्यालयहरुले थप मेहनत गर्नु आवश्यक भएको र समाजलाई राम्रो बनाउन कठिन परिस्थितिको पनि सामना गर्ने सामथ्र्य जुटाउनुपर्नेमा जोड दिनुहुँदै नगरप्रमुख प्रजापतिले भक्तपुरमा सामुदायिक विद्यालयको शिक्षाको स्तर निकै माठि उठेको बताउनुभयो ।
त्यस्तै भक्तपुर नपा वडा नं। ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर शैक्षिक गन्तव्यस्थल बन्दै गर्दा धेरै चुनौतीहरु पनि थपिएको बताउनुहुँदै प्रि–एसईईको आधारमा विद्यार्थीहरुलाई एसईई परीक्षा सामेल गराउन सके शैक्षिक गुणस्तर बढ्ने बताउनुभयो । भक्तपुर नपा नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले भक्तपुर नपाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षा सञ्चालन गरी करिब ३० लाखभन्दा बढीको छात्रवृत्ति वितरण गरेको जानकारी गराउनुहुँदै भक्तपुर नपाले स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा गणेश मावि भार्वाचोका प्रधानाध्यापक एवम् संयुक्त परीक्षा समितिका प्रतिनिधि गणेशराम थुसा, मेधा माविका प्रधानाध्यापक गंगाधर हाडा, इसानका प्रतिनिधि कृष्णराम त्वानाबासु, प्याब्सनका प्रतिनिधि शिवकुमार कोजु, एनब्याब्सनका शिवकृष्ण कवां, आधारभूत परीक्षा समितिका दिपक माक लगायतले रचनात्मक सुझावहरु दिनुभएको थियो । भक्तपुर नगरपालिकाले जस्तै राम्रो कामको पनि अन्य स्थानीय तहले पनि सिको र अनुसरण गर्नु राम्रो हुनेछ।