एजेन्सी । कतारमा चलिरहेको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्व कप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न सहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन्। बुधवार राति भएको खेलमा दुई–शून्य गोलले मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्व कपको फाइनलमा प्रवेश गरेको हो । अफ्रिकी देश मोरक्कोको अभूतपूर्व उपलब्धिको उनीहरूले सराहना गरेका छन् ।
विश्व कपको इतिहासमा पहिलो पटक अफ्रिकी देश मोरक्को सेमिफाइनलमा पुगेर फ्रान्ससँग आमनेसमाने भएकामा उनीहरू हर्षित थिए । फ्रान्ससँग पराजित भए पनि मोरक्कन फाइनलमा हामीसँगै हुनेछन्, यो जित सबै फ्रान्सेली भाषीको हो’, मध्यप्यारिसको बास्टिल स्क्वायर नजिक विजय उत्सवमा सहभागी २२ वर्षीय एड्रिन भिग्नाउले क्रोएसियालाई हराएर सेमिफाइनलमा मोरक्को पुग्नु ठूलो उपलब्धि भएको उल्लेख गर्दै भने । मोरक्कन टोलीको आँसु उनीहरूको उत्कृष्ट प्रदर्शनले पुछेको उनले बताए ।
फ्रान्स र अर्जेन्टिनाबीचको फाइन खेलको व्यग्र प्रतीक्षामा आफू रहेको बताउँदै उनले अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीको प्रहार र प्रस्तुति पनि रोचक हुनेमा आफू ढुक्क रहेको जनाए । प्रतिद्वन्द्वी भए पनि उनको प्रहार गर्ने शैली आकर्षक रहेको उनले बताए । यसैबीच सेमिफाइनल आमनेसामने भएका दुई टिमका सुपरस्टार खेलाडीहरू केलियन एम्बाप्पे र अश्रफ हाकिमीले जर्सी साटासाट गरेको विषय अहिले निकै चर्चामा छ । उनीहरू दुवैले क्लब फुटबल पेरिस सेन्ट जर्मेइन ९पीएसजी० बाट खेल्छन् । खेल सकिएपछि दुवैले एकअर्काको जर्सी साटासाट गरेको दृश्यले विश्वभरका फुटबल फ्यानको ध्यान तानेको छ।