एजेन्सी । भारतीय जनता पार्टी भाजपाले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौं भाजपा कार्यकर्ता र नेताहरू हातमा प्लेकार्ड लिएर प्रमुख स्थानमा भेला भएर पाकिस्तानका विदेशमन्त्रीले प्रधानमन्त्री मोदीविरूद्ध गरेको अपमानजनक टिप्पणीको विरोध गरे । उनीहरूले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै उनीहरु विरुद्ध नाराबाजीसमेत गरेका थिए ।
भाजपा राज्य अध्यक्ष चन्द्रशेखर बावनकुलेले पुणेमा विरोध प्रदर्शनको नेतृत्व गरे भने मुम्बईका विभिन्न भागमा एकत्र भएका सयौं भाजपा कार्यकर्ता र नेताले प्रदर्शन गरे। उनीहरूले पाकिस्तान सरकार र विदेशमन्त्रीको आलोचना गर्ने गीत पनि बजाएका थिए । बिलावल भुट्टो जरदारीले मोदीविरुद्ध गरेको अपमानजनक टिप्पणीले देशभर आक्रोश सृजना गरेको छ । भाजपाले देशभरका सबै राज्यको राजधानीहरूमा विरोध प्रदर्शन गरिरहेको छ ।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी मन्त्रीले गरेको अपमानजनक टिप्पणीपछि भारतभर आक्रोश छाएको छ। भाजपाले बिलावल भुट्टोको टिप्पणीलाई अति अपमानजनक र कायरताले भरिएको भन्दै पाकिस्तानको ध्वस्त अर्थव्यवस्था, अराजकता तथा त्यहाँ व्याप्त अराजकताबाट विश्वव्यापी ध्यान अन्यत्र मोड्न गरिएको बताएको छ । भाजपाले एक वक्तव्य निकालेर पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगत्मा पाकिस्तानको प्रतिष्ठा घटाएको जनाएको छ ।