एजेन्सी। एकदिवसीय शृङ्खलामा लज्जास्पद हारपछि भारतले बंगलादेशविरुद्धको टेस्ट शृङ्खलामा विजयी सुरुवात गरेको छ । चटगाउँमा भएको पहिलो टेस्ट खेलमा भारतले बंगलादेशलाई १८८ रनले पराजित गरेको हो । यो टेस्ट म्याच भारतका स्पिन बलरको नाममा रह्यो । पहिलो इनिङ्समा कुलदीप यादवले पाँच विकेट लिएको भारतले बंगलादेशलाई १५० रनमा अलआउट गरेको थियो। दोस्रो इनिङ्समा अक्षर पटेलको ४ विकेट र कुलदीप यादवको ३ विकेटको मद्दतले भारतले बंगलादेशलाई ३२४ रनमा अलआउट गर्यो। बंगलादेशलाई जितका लागि ५१३ रनको विशाल लक्ष्य आवश्यक थियो । योसँगै भारतले दुई टेस्टको सिरिजमा १–० को अग्रता बनाएको छ ।
१४ डिसेम्बरबाट सुरु भएको पहिलो टेष्ट खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतले पहिलो इनिङ्समा ४ सय ४ रन बनाएको थियो जसमा चेतेश्वर पुजाराले ९० रन, श्रेयस अय्यरले ८६ रन, आर अश्विनले ५८ रन बनाएका थिए। जवाफमा बंगलादेशको टोलीले १५० रन मात्र बनाउन सके र भारतले २५० रनभन्दा बढीको अग्रता लिएको थियो । भारतका लागि पहिलो इनिङ्समा कुलदीप यादवले पाँच, मोहम्मद सिराजले तीन तथा उमेश यादव र अक्षर पटेलले एक–एक विकेट लिए ।
यसपछि दोस्रो इनिङ्समा भारतका लागि शुभमन गिल र चेतेश्वर पुजाराले शतकीय पारी खेलेपछि भारतले २५८ रनमा इनिङ्स घोषणा गरेको थियो । त्यतिबेला भारतको दुई विकेट मात्रै झरेको थियो । चौथो दिनको खेलमा बंगलादेशको टोली क्रिजमा आउँदा उनको अगाडि ५१३ रनको ठूलो लक्ष्य थियो । यो लक्ष्यको जवाफमा उनले बलियो खेल्ने प्रयास गरे र उनका ब्याट्सम्यान जाकिर हसनले पनि शतक बनाए । सोही क्रममा नजमुल हुसेन शान्तोले ६७ रन बनाएका थिए भने कप्तान शकिब अल हसनले पनि ८४ रनको इनिङ खेले पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् ।