– जगीलाल थापा
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । शनिबार राती अज्ञात व्यक्तिहरुको समूहले वडाअध्यक्षको कार्यकक्ष रहेको कोठामा ढुङ्गा प्रहार गरी झ्यालका शिशाहरु फुटाएको ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख राजाराम यादवले जानकारी दिनुभएको छ । ढुंगा प्रहार गर्दा वडा अध्यक्षको कार्यकक्ष कोठाको पुर्व र दक्षिण तर्फका २ वटा झ्यालको सिसा फुटेको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ । बिहान ९ बजेको समयमा कार्यलय खेलेर सरसफाई गर्ने क्रममा वडा अध्यक्षको कार्यकक्षका झ्यालहरुका सिसा फुटेर कोठाभरी छरपस्ट अवस्थामा देखे पछि कार्यलय सहयोगी अनिता थारुले वडा अध्यक्ष कुल प्रसाद पौडेललाई जानकारी दिनु भएको थियो।
रातीको समयमा अज्ञात समूहले वडा अध्यक्षलाई ईङ्गित गरी गाली गलौज गर्दै हो हल्ला गरेको र झ्यालका शिसाहरु तोडफोड गरेको कुरा वडा अध्यक्ष कुल प्रसाद पौडेलले स्थानीयलाई उद्धृत गर्दै जानकारी दिनुभयो। राती करिब ११ बजेको समयमा २ वटा मोटरसाइकल सहित आएका अज्ञात समूहले वडा कार्यालय वरीपरी वर्तमान वडा अध्यक्ष कुल प्रसाद पौडेल र निवर्तमान वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीलाई गाली गर्दै हो–हल्ला गरेको आवाज सुनेको भएपनि वडा कार्यालयमा तोडफोड गरेको भन्ने कुनै शंका नभएको स्थानीयहरुले बताएका छन ।
मदिरा सेवन गरी तोडफोड गरेको हुन सक्ने शंका गरिएपनि कसले किन वडा अध्यक्ष कुलप्रसाद पौडेल विरुद्ध नाराबाजी गरे भन्नेबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, रुद्रपुरले जानकारी दिएको छ। रातीको तोडफेडमा संलग्न भएको आशंकामा स्थानीय एक युवालाई अनुसान्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।