राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ। आज एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा ७६ उपधारा २ अनुसार सरकार गठन गर्न सात दिनको समय दिईएकाले उक्त अवधीसम्म दाबी गर्न आह्वान गरिएको हो । नेपालको संविधानको धारा ७६ उपधारा २ मा प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने व्यवस्था गरिएको छ । त्यही व्यवस्था अनुसार राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा आउँदो पुष १० गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । तर अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले त्यस धाराको उपधारा २ अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।
यो व्यवस्थाअनुसार कुनै व्यक्तिले बहुमत पुर्याएमा चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रधानमन्त्री नियुक्त हुनुपर्ने व्यवस्था छ ।
दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि एक सय ३८ सांसदको आवश्यकता पर्छ ।