भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको उपलक्ष्यमा भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालको नया भवन शनिबार उद्घाटन भएको छ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छें ९रोहित०ले ख्वप अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै दुर्गम ठाउँहरुमा स्थानीय निकायलाई अधिकार सम्पन्न बनाई सक्रिय रुपमा काम गर्न सकेको खण्डमा सरकारको आधा काम सम्पन्न हुने उल्लेख गर्नु भयो। देशको परिस्थिति निकै विकराल बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै नेता बिजुक्छेले जनप्रतिनिधि र राजनीतिक कार्यकर्ताले निःस्वार्थ रुपमा देश र जनताको सेवामा एकढिक्का हुन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रिकरणको अधिकार दिने हो भने प्रदेश सरकारको आवश्यकता नरहेको बताउनुभयो ।उहाँले भारतको प्रभाव नेपालमा बढिरहँदा नेपालको अवस्था झन् झन् नाजुक बन्दै गएको बताउदै नेता बिजुक्छेले नेपालमा दिल्लीको प्रभाव बढ्दै जाँदा नेपालमा राजनीतिक अस्थिरता बढ्दै गएको र नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न पनि भारतकै सहयोगमा हुनुपर्ने अवस्था आउनु देशको लागि घातक भएको बताउनुभयो ।
समसामयिक बिषयमा बोल्दै नेता बिजुक्छेले न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्ने कुरा आफैमा गलत भएको औंल्याउनुहुँदै नेपालको कार्यपालिका र विधानपालिकामा समेत भारतको छायाँ परेको हुँदा संघर्षको निम्ति देशभक्त जनता एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । सोही क्रममा अध्यक्ष बिजुक्छेंले भक्तपुर नपाबाट प्रकाशित कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिका नामक पुस्तक समेत विमोचन गर्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनीधि सभा सदस्य प्रेम सुवालले स्वास्थ्य मन्त्रालयले ख्वप अस्पताल स्वीकृतिमा ढिलाइ गरेका कारण ख्वप अस्पताल सञ्चालनमा ढिलाइ भएको बताउनुभयो । ख्वप अस्पतालले जनतालाई राम्रो स्वास्थ्य उपचार दिनेमा विश्वास व्यक्त गर्नुहुँदै केन्द्रिय सचिव तथा प्रतिनीधि सभा सदस्य सुवालले सरकारी अस्पताल राम्रो भए मात्र गरिब जनताले सहज रुपमा स्वास्थ्य उपचारमा पहुँच पुग्ने बताउनुभयो ।
क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधी उपलब्ध नहुँदा धेरै बिरामीले अकालमा ज्यान गुमाएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुहुँदै सांसद सुवालले विदेशबाट ल्याउनुपर्ने औषधी सरकारले तत्काल ल्याउन आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्र मार्फत स्वास्थ्य क्षेत्रमा ‘ख्वप अस्पताललाई सय शैय्याको सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने, वडा वडामा स्वास्थ्य केन्द्रहरुको विस्तार गर्ने र विशेषज्ञहरु मार्फत नियमित स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने’ लगायतका प्रतिबद्धताअनुरुप कार्यहरु गर्दै आइरहेको बताउनुभयो ।
२०३८ सालदेखि जनस्वास्थ्य केन्द्रको रुपमा सञ्चालित च्याम्हासिंहस्थित स्वास्थ्य केन्द्रलाई २०७८ साल वैशाख १७ गतेबाट विधिवत रुपमा ख्वप अस्पतालको रुपमा सञ्चालन ल्याएको अवगत गराउनुहुँदै प्रमुख प्रजापतिले जनताको साथ र सहयोग भए हरेक क्षेत्रमा सफलता हासिल गर्न सम्भव छ भन्ने एउटा उदाहरणको रुपमा भक्तपुर नगरपालिकाले काम गर्दै आएको बताउनु भयो ।
नगरप्रमुख प्रजापतिले सरकारी अस्पतालहरुमा सुधार नहुँदा र बिरामीहरु स्वास्थ्य उपचारको लागि निजी अस्पतालहरुमा गइरहनुपर्ने बाध्यताको अन्त्य नभएसम्म जनता स्वास्थ्यकै कारण घरखेत बेच्न बाध्य हुनुपर्ने र ऋणको पासोमा परिरहने यथार्थ प्रस्तुत गर्नुभयो ।
नेमकिपा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेतृत्व राम्रो भएको खण्डमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम गर्न सम्भव छ भन्ने उदाहरण भक्तपुर नपाले देखाएको बताउनुहुँदै नेमकिपाको लामो राजनीतिक जगकै कारण भक्तपुर आजको स्थितिमा पुगेको यथार्थबोध नयाँ पुस्तामा गराउनु पर्नेमा जोड दिनुभयो ।
ख्वप अस्पताललाई १०० शैय्यामा स्तरोन्नति गर्न गरेको निरन्तरको संघर्षकै कारण आज यो उपलब्धी हासिल भएको बताउनुहुँदै सांसद गोसाईले स्वास्थ्य क्षेत्रबाट जनताको जीवनमा निःस्वार्थ सेवा गर्ने भावना ख्वप अस्पतालमा हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपा देशभरिकै उत्कृष्ट नगरपालिकाको रुपमा परिचित गर्न यहाँका अग्रज, जनप्रतिनिधि, नगरबासी, बुद्धिजीवी, पत्रकारलगायतको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । भक्तपुर नगरलाई शिक्षित र सुन्दर नगरको रुपमा विकास गर्ने लक्ष्य बोकेको भक्तपुर नपाले कोभिड महामारीबाट जोगाउन जनतासँग हातेमालो गर्दै रोग नियन्त्रण र रोकथाममा लागि परेको उहाँले बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ख्वप अस्पताल उद्घाटन नगरबासीहरुको निम्ति गौरवपूर्ण समय भएको बताउनुहुँदै गुणस्तरीय र सर्वसुलभ स्वास्थ्यको लागि भक्तपुर नपाको प्रयास प्रशंसनीय भएको बताउनुभयो । सानो जिल्ला भएर पनि भक्तपुरमा संघ, प्रदेशको अस्पताल रहेको र नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पतालबाट भक्तपुर लगायत देशभरका जनताले स्वास्थ्य उपचार सहज रुपमा पाउने उहाँले बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पताल, भक्तपुरका कार्यकारी निर्देशक प्रा।डा। विष्णुदत्त पौडेलले कोभिड नियन्त्रणमा भक्तपुर नपाले राम्रो काम गरेको बताउनुहुँदै भक्तपुर क्यान्सर अस्पतालमा डी।एम। अन्कोलोजीको कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।
भक्तपुर अस्पतालका मेसु डा सुमित्रा गौतमले भक्तपुर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न भक्तपुर नपाले सहयोग गर्दै आएको चर्चा गर्दै ख्वप अस्पतालको प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुर नपा आफ्नो नगरबासीहरुको सेवाको निम्ति दत्तचित्त भएर लागिरहेको बताउनुहुँदै अस्पतालले स्वास्थ्य सुविधाहरु थप गर्दै लानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा। पुकार चन्द्र श्रेष्ठले नेपाल सरकारको मुख नताकी जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्ट निर्माण गरी नगरबासीहरुलाई कोभिडमा गरेको सेवा सराहनीय भएको उल्लेख गर्नुभयो ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३० जनाभन्दा बढीको दिनहुँ रुपमा डायलासिस गर्दै आइरहेको, ७७ जिल्लाका मृगौलाका बिरामीहरु यहाँ उपचार गर्न आउने गरेको तथ्यांक प्रस्तुत गर्दै उहाँले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालबाट निःशुल्क डायलासिसको सेवा सुरु गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा ख्वप अस्पतालका डा। रत्नसुन्दर लासिवाले ख्वप अस्पतालको प्रगति प्रतिवेदन र ख्वप अस्पताल भवन निर्माण आयोजना प्रमुख विजय राम कोजूले ख्वप अस्पताल भवन निर्माणको कार्य प्रगति आदिबारे प्रष्ट पार्नुभयो भने भक्तपुर नपा वडा नं। ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाको वार्षिकोत्सवकै अवसर पारेर आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोष र ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न रु। ५ लाखभन्दा बढी आर्थिक सहयोग गर्ने संघसंस्थालाई कदर पत्र वितरण गर्नुभएको थियो ।
सोही क्रममा कार्यक्रमका अतिथि सांसद गोसाईले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार कार्यमा संलग्न भई सहयोग गर्ने कर्मचारीहरुलाई कदर पत्र वितरण गर्नुभएको थियो भने कार्यक्रमका सभापति प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका उत्कृष्ट १० जना कर्मचारीलाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
औपचारिक कार्यक्रमपश्चात कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिगणहरुले ख्वप अस्पताल भवन, ब्रम्हायणीस्थित ख्वप अस्पताल कोभिड युनिट र छात्ती पुनःस्थापना केन्द्रको स्थलगत अवलोकन गर्नुभएको थियो ।