नेपाल टेलिकमले आफ्नै नाममा भएको मोबाईल नम्बर प्रयोग गर्न आग्रह गरेको छ । अरूको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भइ अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको हो । मङ्गलवार विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमले राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको बताएको हो ।
‘टेलिकम ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएकोरबिग्रिएमा आफू स्वयं उपस्थित भइ प्राप्त गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
नयाँ सिम कार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरण स्पष्टरूपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचयपत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचयपत्र एवम् सम्पर्क नम्बर स्पष्टरूपमा लेख्नुपर्नेछ ।
ग्राहक स्वयं उपस्थित नभइ अर्को व्यक्तिको नाममा दर्ता रहेको सिम कार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचयपत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचयपत्र देखाइ त्यसको प्रतिलिपि रितपूर्वक भरिएको फारामसाथ संलग्न गर्नुपर्छ ।
वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचयपत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्टी गरि सिम कार्ड परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ ।
आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गरौ : टेलिकम
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??