मानव बेचबिखन मुद्दामा अदालतबाट ३० वर्ष कैद सजाय भई फरार रहेका एक जनालाई रूपन्देही प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । कपिलवस्तुको चन्द्रौटाका दुई जना महिलालाई भारतमा लगेर बेचेको अभियोगमा २०७४ सालमा जिल्ला अदालत कपिलवस्तुबाट ३० वर्षको कैद र २ लाख ५० हजार जरिवाना तोकिए पनि फरार रहेका रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ साविक रूद्रपुरका मिनबहादुर विकलाई इलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो ।
प्रहरीले दिएको घटना विवरण अनुसार गाउँमा आरने माइला भनेर चिनिने विकले शालिकराम विकको सहयोगमा २०७० साल कात्तिकमा ज्याला मजदुरी गर्दै आएका ती महिलालाई राम्रो काममा लगाइदिने भन्दै भारतको पञ्जाव पु¥याएका थिए। फिरोजपुरमा बग्गी नामका व्यक्तिले काम लगाइदिने र उनीहरूले त्यही काम गर्ने भन्दै उनी त्यहाँबाट निस्केका थिए। भारतको होटलमा बेचिएको थाहा पाएको एक महिनापछि मात्रै उनीहरु होटलमा अरू कोही नभएको मौका छोपी त्यहाँबाट भागेर कपिलवस्तुको कृष्णनगरस्थित नेपाल भारत सिमामा रहेको पुनर्स्थापना गृहमा पुगेका थिए ।
२०७० साल पुस महिनामा इलाका प्रहरी कार्यालय कृष्णनगरमार्फत् मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरेसंगै उक्त मुद्दामा गरिएको अनुसन्धान तथा शालिकराम विक समेतको बयानपछि जिल्ला अदालत कपिलवस्तुले २०७४ साल असार १९ गतेको फैसलामा आरने माइला भनिने मिनबहादुरलाई मुख्य कसुरदार मानी ३० वर्ष कैद तथा २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो। मानव बेचबिखन ओसारपसार ऐन २०६४ अनुसार गरिएको उक्त फैसलामा कैद र जरिवानासँगै पीडित महिलाहरूलाई १ लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेपछि विक फरार भएका थिए ।
६ वर्षदेखि फरार रहेका विकलाई खोजतलास गर्दै जाँदा सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कपिलवस्तु पठाएकोमा अदालतले कैद भुक्तानको लागि कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिनुभएको छ ।