समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा आजबाट प्रदर्शनी सञ्चालन भएको छ । रुपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उदघाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको थियो ।
उहाँले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने बताउनुभएको छ । भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका ४ सय ५० स्टल रहने छन् । यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकलन गर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक–गायिका, हास्य कलाकार, सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, टिकटक टयालेन्ट हन्ट लगायतका प्रतियोगिताहरु रहने आयोजकको भनाई छ ।