बुद्धको जन्मस्थल लुम्बिनीमा नवौ सडक खाना तथा सांस्कृतिक महोत्सव सञ्चालन गरिने भएको छ । लुम्बिनी होटल संघ नेपालको आयोजनामा अङ्ग्रेजी नया वर्षको अवसरमा लुम्बिनीमा यही पुस १६ गते सडक खाना महोत्सवको आयोजना हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीमा आयोजना गरिने महोत्सवलाई स्थानीय खानपिनका परिकारहरुका साथै अन्तरर्रािष्ट्रय अन्य देशका परिकारहरु पनि सामेल गर्ने गराउने कोसिस गरिएको बताउनुभयो । कोरोना संक्रमणले ध्वस्त बनाएको पर्यटन बजार बिस्तारै बामे सर्दै गरेको अवस्थामा सडक खाना महोत्सवले यस क्षेत्रमा रौनकता थपिने मात्र नभइ अर्थतन्त्र पनि चलायमान हुने अध्यक्ष ज्ञवालीको भनाइ छ । फेस्टिबलमा स्थानीय थारु समुदाय, मुस्लिम समुदाय, पश्चिमी तराईका ब्राहमण समुदाय लगायतका खानपिनका साथै पाल्पाको झिनिया रोटी, बटुक, हाँसको छोइला, यस क्षेत्रकै पहिचान बनेको चुकौनी, यस क्षेत्रकै नामी मिठाइ इम्रिति लगायतका खानेकुरा रहने उहाँले बताउनुभयो ।
लुम्बिनी सांस्कृतिक महोत्सव तथा सडक खानपिन महोत्सवमा स्थानीय थारु समुदाय मुस्लिम समुदाय पश्चिमी तराईका ब्राह्मण समुदाय आदिका खानपिनका साथै पाल्पाको झिनिया रोटी बटुक, हासको छोइला, चुकौनी, इम्रिति लगायतका खानेकुरा सडक खाना महोत्सवमा रहने उनले बताए । महोत्सवमा नौमति पञ्चेबाजा, विरहा, थारु झुमराका साथै आधुनिक पप ÷ डिजे गीत संगीतको व्यवस्था समेत मिलाइएको छ ।
लुम्बिनीको महिलवार बजारमा बेलुका ४ बजेदेखि राती १२ बजेसम्म फूड फेष्टिभल आयोजना हुनेछ । महोत्सवको लुम्बिनी होटल संघ, नेपाल आयोजक भए पनि महोत्सव आयोजनमा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन डिभिजन कार्यालय रुपन्देही, लुम्बिनी विकास कोष, लुम्बिनी पर्यटन विकास परिषद्, लुम्बिनी साँस्कृतिक नगरपालिका, सिद्धार्थ उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही लगायतका संघ–संस्था र निकायहरुले समेत आयोजकका रुपमा सहयोग गरेका छन् ।