नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । आज उपप्रधानमन्त्रीको सपथ ग्रहण गरी पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलो प्राथमिकताको रुपमा आफुले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएको हो । आफू सञ्चारकर्मी रहेर काम गर्दै गर्दा गृह मन्त्रालयको बारेमा सबैभन्दा धेरै गुनासो आउने गरेकाले स्थितीलाई सुधार ल्याउन यो पद रोजेको उल्लेख गर्नुभयो।
आफूले स्वतन्त्ररूपमा कार्यसम्पादन गर्ने समेत बताउदै मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो । निर्मला पन्तको बारेमा थप बोल्दै उहाँले उनको परिवारलाई न्याय दिलाउने पहल आफ्नो रहने बताउनुभएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सकेको छैन ।




