अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा विजयी हुँदै काशी नोबल एकेडेमी फाइनल प्रवेश गरेको छ । काशीले साई ग्लोबल एकेडेमी ‘बी’ टिमलाई ७ विकेटले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो। बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा न्यु होराइजन कलेजले शान्ति नमूना उच्च माविलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । अब, काशी र न्यु होराइजनबीच आइतबार उपाधिका लागि प्रतिष्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको अन्तिम सेमिफाइनलमा जीतका लागि साई ग्लोबलबाट पाएको ८८ रनको लक्ष्य काशीले १३ ओभर १ बलमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ८७ रनको सामान्य योगफल बनाएको थियो । काशीका प्रज्वल थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताका विजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।