एजेन्सी । रोमन क्याथलिक समुदायका पूर्व धर्मगुरु पोप इमिरेटस बेनेडिक्ट १६औं को निधन भएको छ । ९५ वर्षका बेनेडिक्टको भ्याटिकन सिटीमा रहेको उहाँकै निवासमा निधन भएको बीबीसीले जनाएको छ। उहाँले भण्डै एक दशकदेखि स्वास्थ्य समस्या भोगिरहनुभएको थियो । केही दिनअघि पोप फ्रान्सिसले उहाँको स्वास्थ्य सुधारका लागि प्रार्थना गर्न आग्रह गर्नुभएको थियो । बेनेडिक्ट ६ सय वर्षको इतिहासमा आफ्नो पदबाट राजीनामा दिने पहिलो पोप हुनुहुन्छ।
उहाँले क्याथोलिक विश्वासी र धार्मिक विज्ञहरूलाई अचम्मित पार्दै सन् २०१३ मा पोपको पदबाट राजीनामा दिएर भ्याटिकन सिटीमा बस्दै आउनुभएको थियो। २०१३ मा बिदाइ हुँदा सार्वजनिक जीवनबाट टाढा एकान्तमा बस्ने बताएका बेनेडिक्ट धार्मिक मामिलामा आफ्ना विचार भने व्यक्त गर्दै आउनुभएको थियो । बेनेडिक्टको निधनप्रति फ्रान्स, जर्मनी लगायतका राष्ट्रपतिसहित विश्वका विभिन्न नेताहरुले दुस्ख व्यक्त गरेका छन् ।