पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भोलि उद्घाटन गरिदैछ। विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिएको छ । महानगरले आज एक सूचना जारी गर्दै महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्था बन्द हुने जनाएको छ।
महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार उद्घाटनको सबै तयारी पूरा भएपछि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने तत्काल नहुने भएको छ । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा पोखरा महानगरले लिएको छ ।
पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक भेषभुषासहितको र्यालीको आयोजना गर्नेछ । त्यसैगरी विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो।