लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्दैछ । पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका जेष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको आगामी माघ ३ गते बस्ने जानकारी गराउनुभएको हो । सोमबारकै प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको थियो। ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनेर प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको थियो। अब सोही नियमावलीको आधारमा प्रदेश सभाका गतिविधि संचालन हुने छन्।
यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो। उक्त नियमावलीमा ५० प्रतिशत बढी संशोधन गर्नुपर्ने अवस्था रहेको हुँदा नयाँ नियमावली बनाउनु परेको प्रदेशसभा सचिव मगरले जानकारी दिनुभयो । त्यस्तै, नयाँ सरकार गठनका लागि पनि दलका बीचमा आन्तरिक गृहकार्य सुरू भएको छ। लुम्बिनीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने अझै यकिन भइसकेको छैन।