एजेन्सी । ई–कमर्स कम्पनी अमेजनले आफ्ना १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत -सीईओ- एन्डी जस्सीले हिजो बुधवार कर्मचारीलाई सम्बोधन गर्दै एक विज्ञप्ति निकालेर विश्वभरको अनिश्चित अर्थव्यवस्थाका कारण १८ हजार जना कर्मचारी कटौती गर्ने योजना रहेको उल्लेख गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । कम्पनीले गएको नोभेम्बरमा १५ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । अवस्था झन् खराब हुँदै गएको भन्दै तीन हजार जना थपेर अब १८ हजार कर्मचारीलाई यसै महिनाभित्र हटाइने खबरमा उल्लेख छ ।
अमेजन कम्पनीको व्यापार र नाफा तीव्र गतिमा घटिरहेको छ । सीईओ जस्सीले अनिश्चित अर्थतन्त्रका कारण सन् २०२३ अझ गाह्रो हुने भएकाले अमेजन कम्पनीले खर्च कटौतीका विभिन्न उपाय लिनुपरेको बताउनुभएको छ । सुरुमा कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि अनुरोध गर्ने र दोस्रो विकल्पमा कामबाट निकाल्ने कम्पनीको योजना रहेको छ । अमेजनबाट हटाउने कर्मचारीको अफ्ठेरो समाधान गर्न विशेष आर्थिक प्याकेज दिने सीईओ जस्सीले बताउनुभएको छ । आर्थिक प्याकेजहरूका साथै सङ्क्रमणकालीन स्वास्थ्य बीमा र अरू कम्पनीमा नियुक्तिका लागि पनि पहल गर्ने अमेजनले जनाएको छ ।